६ मंसिर, काठमाडौं । नेपाली क्रिकेटका लागि आजको दिन ऐतिहासिक बन्ने भएको छ। नेपालले आज आइतबार यूएईविरुद्ध आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको प्रतिस्पर्धा नेपाली क्रिकेटका लागि विशेष बन्नेछ।
नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई खेल यूएईसँग नै खेलेको छ। दुई टोलीबीच भएका २० खेलमध्ये नेपालले १२ खेलमा जित निकालेको छ भने ८ खेलमा पराजय बेहोरेको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवैको सामना गरेको छ।
नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो।
नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडीआई खेलेको थियो। ऐतिहासिक पहिलो खेलमा भने नेपालले जित निकाल्न सकेन। नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमै अलआउट भएको थियो।
तर, पहिलो खेलको दुई दिनपछि अर्थात् अगस्ट ३ मा नेपालले दोस्रो ओडीआईमै ऐतिहासिक जित दर्ता गर्यो। नेदरल्यान्ड्सले दिएको २१६ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन रक्षा गर्दै नेपाललाई एक रनको अविस्मरणीय जित दिलाएका थिए।
हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितसँगै ऐतिहासिक र यादगार बनाउन सक्नेछ।




