बालेनको भारत भ्रमणमा लिपुलेकको विषय उठेन, ईपीजी प्रतिवेदन पनि भारतका लागि असान्दर्भिक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपालको भूमि लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले स्पष्ट पारेको छ। साथै, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय पक्षले जनाएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले लिपुलेकको विषय दुई देशका प्रधानमन्त्रीबीचको छलफलमा नउठेको जानकारी दिएका हुन्।

भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले लिपुलेक नाकाबाट हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिबारे प्रधानमन्त्री शाहले कुरा उठाए वा उठाएनन् भन्ने प्रश्न गरेका थिए। जवाफमा विदेश सचिव मिश्रीले लिपुलेकको विषयमा कुनै छलफल नभएको स्पष्ट पारे।

उनले लिपुलेक नाका भारत र चीनबीच लामो समयदेखि व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको उल्लेख गर्दै यस विषयमा भारतको धारणा स्पष्ट रहेको बताए।

यस्तै, नेपाल–भारत सम्बन्ध सुधारका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे सोधिएको प्रश्नमा मिश्रीले उक्त प्रतिवेदन विगतको विषय भइसकेको टिप्पणी गरे। भारत अहिले विगतका विषयमा अल्झिनुभन्दा भविष्यतर्फ केन्द्रित रहेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा मिश्रीले सीमा व्यवस्थापनका लागि दुवै देशबीच विभिन्न संयन्त्र सक्रिय रहेको जानकारी दिँदै सीमा स्तम्भको मर्मतसम्भार र अतिक्रमणसम्बन्धी गुनासोको छानबिनमा प्राविधिक स्तरबाट काम भइरहेको बताए।

दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार परराष्ट्र सचिवहरूलाई सीमासम्बन्धी विषय अघि बढाउन निर्देशन दिइएको उल्लेख गर्दै उनले निकट भविष्यमै परराष्ट्र सचिवस्तरीय बैठक बस्ने विश्वाससमेत व्यक्त गरे।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भए पनि लिपुलेक र ईपीजी प्रतिवेदनका विषयमा भारतले दिएको पछिल्लो अभिव्यक्तिले नेपाल–भारत सम्बन्धमा यी मुद्दाको कूटनीतिक महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी