पोखरा । नेपाली कांग्रेसको देउवा पक्षको गण्डकी प्रदेश अधिवेशनमा तीन दिन बितिसक्दा पनि पदाधिकारी चयनको टुङ्गो लाग्न सकेको छैन। शनिबार शेरबहादुर देउवाले उद्घाटन गरेपछि सुरु भएको बन्दसत्रमा सभापति र सदस्यहरू सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारीमा सहमति जुट्न नसकेको हो।
पार्टी विधानअनुसार गण्डकी प्रदेशमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जना र कोषाध्यक्ष एक जना निर्वाचित हुनुपर्ने व्यवस्था छ। तर, तोकिएको सङ्ख्याभन्दा बढी उम्मेदवारी परेपछि नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।
सभापतिमा एकल उम्मेदवारी परेपछि मेखलाल श्रेष्ठ सर्वसम्मत चयन भइसकेका छन्। तर, दुई उपसभापति पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, दुई महामन्त्री पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने तीन सहमहामन्त्री पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा भने हालसम्म उम्मेदवारी परेको छैन। कार्यसमिति सदस्य पदमा ६४ जनाको उम्मेदवारी परेको थियो।
अधिवेशनको उद्घाटन समारोहपछि निर्वाचन समितिका संयोजक वीरेन्द्र केसीले निर्वाचन कार्यतालिका सार्वजनिक नगरी सभापति र महामन्त्रीमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। विधि र प्रक्रियाविपरीत घोषणा गरिएको भन्दै देउवा पक्षकै नेताहरूले निर्णय फिर्ता लिएर निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका थिए।
त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइए पनि आइतबार दिनभर भएको सहमतिको प्रयास सफल हुन सकेन। अन्ततः सभापति मेखलाल श्रेष्ठको नाम मात्रै औपचारिक रूपमा घोषणा गरियो भने सदस्यहरू पनि सर्वसम्मत चयन भएको जनाइएको छ।
यसअघि कास्कीका गंगाधर पराजुली महामन्त्री बन्ने चर्चा रहे पनि केन्द्रीय नेताहरूको आग्रहपछि उनले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
देउवा पक्षका नेताहरूबीच प्रदेशका अन्य पदाधिकारीमा सहमति जुट्न नसक्दा नेतृत्व चयन प्रक्रिया लम्बिएको हो। निर्वाचन समितिका अनुसार आज पनि सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको छ।




