सुकुमबासीमाथि दोहोरो मार : ७ महिना बित्दासम्म पाएनन् जग्गा, उल्टै होल्डिङ सेन्टर छाड्न उर्दी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले सात महिनाअघि उपत्यकाका नदी किनाराका १९ स्थानमा डोजर चलाएर सुकुमबासी बस्ती खाली गरायो । सो क्रममा २ हजार ६८७ घरटहरा भत्काइएका थिए, जसमा ८९० पक्की र १ हजार ७९७ कच्ची संरचना थिए ।

गत वैशाख १२ र १३ गते एकैपटक थापाथाली, सिनामंगल, शङ्खमूल, शान्तिनगर, मनोहरा, टेकुलगायत विभिन्न स्थानमा डोजर चलाई सुकुमबासीलाई जबरजस्ती हटाइएको थियो । त्यसपछि पनि केही दिनसम्म नदी किनारामा डोजर चलाउने काम जारी रह्यो ।

नदी किनारबाट हटाइएका सुकुमबासीलाई विभिन्न होल्डिङ सेन्टरमा राखियो । सुरुमा १५ हजार ३१६ जना विस्थापित भएका थिए । तीमध्ये वास्तविक पहिचान भएकाहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका थिए ।

गत वैशाखदेखि उनीहरू उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका छन् । केहीले होल्डिङ सेन्टर छाडेर अन्यत्र बसोबास सुरु गरे पनि पछिल्लो समय भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको हलमा १९, विद्युत् तालिम केन्द्र खरिपाटीमा ३२ र इचङ्गुनारायण अपार्टमेन्टमा ४३ सुकुमबासी परिवार बस्दै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय भक्तपुरले २ दिनअघि सूचना निकालेर बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न आजसम्मको समय सीमा दिएको छ ।

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट समेत जबरजस्ती निकाल्न लागिएको भन्दै विपक्षी दललगायत विभिन्न क्षेत्रबाट विरोध भएको छ । बोडेस्थित होल्डिङ सेन्टर खाली गराएपछि खरिपाटी र इचङ्गुनारायणका होल्डिङ सेन्टर पनि खाली गराउने सरकारको तयारी छ । यसले होल्डिङ सेन्टरमा आश्रित सुकुमबासी झनै बिचल्लीमा पर्ने भएका छन् । होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको व्यवस्थापन सुरुमा पूर्वाधार विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो ।

तर, हाल समितिले व्यवस्थापनको काम छाडेको र यसको जिम्मा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई दिइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बताए ।

‘सुकुमबासी परिवारलाई सरकारको निर्णयअनुसार प्रतिपरिवार २५ हजार रूपैयाँ उपलब्ध गराएका छौँ । नबुझेकालाई पनि रकम उपलब्ध गराउनेछौँ,’ महर्जनले भने, ‘तर अब सुकुमबासी व्यवस्थापनको जिम्मा महिला मन्त्रालयलाई दिएका छौँ ।’

गत जेठमा सरकारले सुकुमबासी परिवारलाई एकमुष्ठ २५ हजार रुपैयाँ र मासिक १५ हजार रूपैयाँ राहत दिने निर्णय गरेको थियो । साथै, ५ जनाभन्दा बढी सदस्य भएको परिवारलाई प्रतिसदस्य मासिक २ हजार रुपैयाँ थप उपलब्ध गराउने निर्णय गरिएको थियो ।

उपत्यकामा २१७ परिवार मात्रै सुकुमबासी
भूमि समस्या समाधान समितिका सूचना अधिकारी सञ्जीवकुमार साहका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराएको तथ्याङ्कमा होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारमध्ये हाल २१७ परिवार मात्रै वास्तविक सुकुमबासी पहिचान भएको छ ।

‘गत असारमा बागमती सभ्यता समितिले हामीलाई ३८८ परिवारको विवरण उपलब्ध गराएको थियो । त्यसमध्ये ६३ परिवारको जग्गा अन्यत्र रहेको भेटियो, २१ परिवारको नागरिकता र विवरण नै फेला परेन र ५१ परिवारले यसअघिका सुकुमबासी आयोगमा जग्गा प्राप्तिका लागि निवेदन दिइसकेको पाइयो,’ साहले भने, ‘छानबिनका क्रममा हाल पहिचान भएका २१७ परिवारलाई जग्गा उपलब्ध गराउन उनीहरूको स्थायी ठेगानाका आधारमा समिति मातहतका ४३ वटा जिल्ला समिति र स्थानीय तहलाई पत्राचार गरेका छौँ ।’

कहिले पाउँछन् जग्गा ?
उपत्यकाका नदी किनाराबाट जबरजस्ती हटाइएका सुकुमबासीले जग्गा कहिले पाउँछन् भन्ने अझै टुङ्गो छैन । उनीहरू सात महिनादेखि जग्गा प्राप्तिको पर्खाइमा छन् । जग्गा पाउने वा नपाउने विषय नै अनिश्चित बनेको छ ।

भूमि समस्या समाधान समितिका सूचना अधिकारी साहले भने, ‘जग्गा दिने हामीले होइन, समिति मातहतका जिल्ला समिति र सम्बन्धित स्थानीय तहले हो । हामीले समन्वय मात्रै गर्ने हो र त्यो काम गरिरहेका छौँ ।’

उनका अनुसार कतिपय वडाध्यक्षहरूले आफूसँग जग्गा नै नभएको र सुकुमबासीलाई जग्गा दिन नसक्ने प्रतिक्रिया दिइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी