काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आइतबार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




