चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको बिजुली निर्यात

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा २० अर्ब ४८ करोड रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त २ अर्ब ३८ करोड ८७ लाख युनिट बिजुली भारत र बङ्गलादेशतर्फ निर्यात गरेको हो । भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोवरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि बिजुली निर्यात भइरहेको छ ।

त्यस्तै, नेपाल, भारत र बङ्गलादेशका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार बङ्गलादेशमा पनि बिजुली निर्यात हुँदै आएको छ । प्राधिकरणकाअनुसार चार महिनाको औषत बिजुली बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट बिजुली निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण बिजुली उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष बिजुली निर्यात प्रभावित भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्