निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी टाँस्न वा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिनुभएको हो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले डेङ्गीका सङ्क्रमण बढिरहेको भन्दै सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेङ्गी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

परिपत्रमा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न भनिएको छ । अहिलेसम्म पाँच हजार छ सय ८८ जनामा डेंगी सङ्क्रमण भएको छ ।

महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्