प्रधानमन्त्रीको चीन भ्रमण ल्हासामा सुन छ कान मेरो बुच्चै ! देशको अर्थतन्त्र चौपट, विदेशमा शयर गर्दै प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएको एक साता हुनै लाग्यो । अझै देशै छोडेको त दुई साता पुग्न थोरै बाँकी छ ।

प्रधानमन्त्री प्रचण्ड गत शुक्रवार अमेरिकाबाट चीन प्रस्थान गरेका थिए । उनको औपचारिक चीन भ्रमण शनिवार वाट सुरु भएको थियो । गत भदौ ३० गते उनी अमेरिका प्रस्थान गरेका थिए ।
चीन भ्रमणका क्रममा हाङचाउमा राष्ट्रपति सी चिनफिङ र बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड फुर्सदिला देखिएका छन् ।

फुर्सदको सदुपयोग गर्दै उनले मानसरोवरको तीर्थाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेस सहित ल्हासाको पोताला दरबार, जोखाङ मन्दिर, कैलाश बे क्याम्प, मानसरोवर भ्रमण सकेका छन् ।

देश सब ठिकठाक चलिरहेको जस्तो गरी प्रधानमन्त्री विदेशमा शयर गरिरहेका छन् । अर्थतन्त्र चौपट छ, संसद् बिजनेस विहीन छ, डाक्टर र शिक्षकहरू आन्दोलनमा छन्, शासन व्यवस्थामाथि ठुला प्रश्नहरू उठेका छन् । बिदेसिनेहरूको लाइन घटेको छैन । तर, प्रधानमन्त्री नै मन्त्री र सचिवहरू लिएर लम्बे तान भ्रमणमा व्यस्त छन् ।

राष्ट्रपति सीसँगको भेट, एसियाली खेलकुदको उद्घाटनमा सहभागिता र प्रधानमन्त्री लीसँग भेटपछि उनले समय मात्रै कटाइ रहेका छन् । उपलब्धिविहीन घुमघाम गरिरहेका छन् ।

चीनजस्तो विश्वकै ठुलो अर्थतन्त्र भएको कम्युनिस्ट मुलुकमा पुगेर प्रचण्ड धार्मिक भ्रमणमानजस्तो तीर्थाटन गरिरहेका छन् । हुन त कुन धर्म वा संस्कृति अँगाल्ने भन्ने व्यक्तिको निजी रोजाइ हो । यति हुँदाहुँदै पनि प्रचण्ड धर्मनिरपेक्ष राज्यका प्रधानमन्त्री पनि हुन् । अझ धर्मको अस्तित्व नै स्वीकार नगर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्षसमेत हुन् । तैपनि, प्रचण्डले हिन्दु तथा बौद्ध धार्मिक स्थल मानसरोवर पुगेर कैलाश पर्वतको समेत दर्शन गरेका छन् ।

उनले त्यहीँबाट केही राजनीतिक र कूटनीतिक सन्देश दिन खोजेको बुझिन्छ । गत जेठ तेस्रो साता भारतको मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पूजा गरेका थिए । त्यहाँबाट फर्केर आएर उनी केही मन्त्रीको लावालस्कर नै लगाएर पशुपतिनाथ दर्शनमा गएका थिए ।

भ्रमण कति सफल ?

 

 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भयो ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबिचको वार्तापछि १३ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । संयुक्त विज्ञप्तिमा नेपाल र चीनबिच यसअघि भएका सन्धि, सम्झौता तथा समझदारी पत्रको कार्यान्वयनमा जोड दिने उल्लेख छ ।

नेपाल र चीनबिच चार दर्जनभन्दा बढी सन्धि, सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । धेरै ती सम्झौता तथा समझदारीपत्रहरु कागज मै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन् या सुस्त गतिमा अघि बढेका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा त्यस्ता सम्झौता तथा समझदारी पत्रको कार्यान्वयनमा जोड दिइएको छ ।

भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा भैँसी भएको भन्दै विपक्षी दलले संसद्मा प्रधानमन्त्रीको कटाक्ष गरेका थिए । चीन भ्रमणको उपलब्धि भैँसीको मासु निर्यात गर्ने सहमति भन्दै सामाजिक सञ्जालमा हल्का टीकाटिप्पणी सुरु भइसकेको छ । दुई प्रधानमन्त्रीको भेटपछि जारी संयुक्त १३ बुँदे संयुक्त वक्तव्यको ८ औँ नम्बर बुँदामा ‘नेपालबाट राँगाको मासु आयातका लागि चीन सहमत भएका उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले भ्रमण सोचेभन्दा फलदायी भएको दाबी गरेका छन् । बुधवार ल्हासास्थित महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा प्रचण्डले चीनका राष्ट्रपतिले नेपाली प्रतिनिधिमण्डललाई एक घण्टाभन्दा लामो समय दिएर छलफल गरेको स्मरण गर्दै प्रचण्डले राजनीतिक रूपमा निकै महत्त्वपूर्ण भएको दाबी गरे । ‘अहिले यो बिन्दुमा आएर म ढुक्कसँग भन्न सक्छु, भ्रमण आजसम्म सोचेभन्दा बढी सफल भएको छ । मलाई बेइजिङमा गार्ड अफ अनर दिइएला भन्ने पनि लागेको थिएन, सामान्य सम्मान होला भन्ने थियो,’ प्रचण्डको भनाइ थियो ।

उनका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले कटाक्ष भने भिन्न छ । उनले प्रधानमन्त्री प्रचण्डको भ्रमण सफल नभएको टिप्पणी गरेका छन् । ‘अहिले २१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेका बेला हामीले ऊसँगको निकट सम्बन्धमार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो । त्यसनिम्ति उसले अघि सारेको बीआरआई र जीडीआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो, उनले भनेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो ।’

डा. भट्टराई भनेजस्तै विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको छिमेकी मुलुक चीन भ्रमणमा उल्लेख्य उपलब्धि हुन सकेन । चीनसँगको निकट सम्बन्धमार्फत तीव्र आर्थिक रूपान्तरणका निम्ति कुनै दीर्घकालीन सहमति र सम्झौता भएको देखिएन । दुई दिन महत्त्वपूर्ण भेटवार्ता गरेका प्रचण्ड त्यसपछि फुर्सदमै छन् ।

फुर्सदिला प्रधानमन्त्रीले ल्हासा भ्रमण गरे । तर, उपलब्धि के ?  ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भनेजस्तै भएन र ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्