काठमाडौं, २४ असोज । काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे श्रीलङ्कामा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार ब्यहोरेको छ ।
पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तान र दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो ।
६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले पर्सि साउदी अरबसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।
फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।