क्रिकेटको सफलताबाट सारा देश दङ्गः अब विश्वकपको मञ्चमा गुन्जिने छ नेपाली राष्ट्रिय गान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट एसिया छनोटको उपाधि ओमानले जित्यो ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि जितेको हो । घरेलु मैदानमा उपाधि पनि नेपालले नै जितोस् भन्ने स्वाभाविक सबैको थियो नै । सुपर ओभरमा ओमानले पहिले ब्याटिङ गर्दै २१ रनको योगफल खडा गरेको थियो । ६ बलमा २२ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमले त्यसलाई भेटाउन सकेन । नेपालले १० रन जोड्दा दुई विकेट गुमाएपछि विजेताको टुङ्गो लाग्यो । ओमान च्याम्पियन बन्यो ।
नेपाल हारे पनि नेपालीमा ठुलो निराशा देखिएन । किनकि उपाधिभन्दा ठुलो उपलब्धि नेपालले यसअघि नै हासिल गरिसकेको छ । फाइनलको दुई दिनअघिमात्र नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो ।
युएईलाई पराजित गरेर नेपालले विश्वकप खेल्न ढोका उघारेको थियो । नेपाल क्रिकेट खेलमा विश्वकपमा पुग्ने भएको यो दोस्रो पटक हो । छनोटमा कुल आठ टिम सहभागी थिए । जसबाट फाइनल पुग्ने दुई टिम आगामी वर्षको ट्वान्टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो ।
जसमा नेपाल र ओमानले आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा स्थान निश्चित गरेका छन् । योसँगै विश्वकपको मञ्चमा एक दशकपछि नेपाली राष्ट्रिय गान गुन्जिने पक्का भएको छ । नेपालले पछिल्लो पटक सन् २०१४ मा भएको विश्वकप खेलेको थियो । दश वर्ष पहिले पाएको एउटा अवसरको हाल पुनः स्मरण हुन पुगेको छ । नेपालको गौरवका रूपमा यसलाई लिनुपर्ने हुन्छ । नेपाल क्रिकेटको अहिलेको सफलताबाट सारा देश दङ्ग छ ।
नेपाल त्यसै विश्वकपमा छनोट भएको होइन । यहाँसम्म पुग्न नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । यसमा खेलाडीको मेहनत छ । अझै मुख्य प्रशिक्षक मोन्टी देसाइँ यो सफलताका हकदार छन् । मोन्टीले टिमका सबैमा सकारात्मक ऊर्जा भरेका छन् । सामूहिक खेलमा एकताबद्ध टिमले ठुलो अर्थ राख्छ । यो फड्को छोटो समयमा सहजै प्राप्त भने भएको होइन । यसको पछाडि नेपाली क्रिकेटको लामो इतिहास रहेको छ ।
तत्कालीन ब्रिटिस इन्डिया (अहिलेको भारत, पाकिस्तान र बांग्लादेश) बाट नेपालको राणा परिवार हुँदै क्रिकेट खेल नेपाल छिरेको हो । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा भने सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी)को सदस्यता प्राप्त गरेपछि थालेको हो । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया यात्राबाट थालनी गरेको थियो ।
नेपाल विश्वकपमा छनोट हुने मात्रै होइन । विश्वकपमा पनि नेपालले उत्कृष्टता हासिल गर्न सक्छ भन्ने अपेक्षा रहनुपर्छ । त्यसका लागि तयारी गर्नुपर्छ । आवश्यक प्रशिक्षण, अभ्यास अहिलेदेखि नै सुरु गर्नुपर्ने हुन्छ ।
आगामी वर्ष अथवा २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा सहभागी हुने अवसर पाएको नेपालले विश्वकपमा समेत कुनै न कुनै प्रतिस्पर्धामा सफलता पाउने अपेक्षा गर्नु स्वाभाविक मान्न सकिन्छ । किनभने, यसका केही सम्भावना छन् । क्रिकेटमा नेपालले दिनप्रतिदिन सफलता हासिल गर्दै आइरहेको छ । यसले विश्वकपमा पनि केही न केही सफलता प्राप्त होला भन्ने अपेक्षा गर्नु अन्यथा हुनेछैन ।
अर्कातिर खेलमा प्रतिस्पर्धा गर्नु भनेकै विजयको अपेक्षाले हो । खेलमा सधैँ पराजय मात्र व्यहोनुपर्छ भन्ने छैन विजय हुन नै खेलिने हो । नेपालले पनि यही उच्च मनोबलले खोल्यो भने कुनै न कुनै सकारात्मक परिणाम हात पर्न सक्छ ।
खेलकुदमा अझै राम्रो गर्न सरकारले खेलकुदमा गर्ने बजेट अझै बढाउँदै लगेर खेलाडीहरूलाई प्रोत्साहन गर्दै लानुपर्छ । खेलकुदको क्षेत्रमा लागेर जीवन त्यसैमा समर्पित गरिरहेका खेलाडीहरूले खेलेरै बाँच्न सक्ने अवस्था सरकारका तर्फबाट सिर्जना हुनसक्ने हो भने नेपाली खेलाडीहरूले यस क्षेत्रमा अझै राम्रो गर्न सक्छन् । यसो भयो भने परिणाम निश्चय अझै राम्रो निस्कन सक्छ ।
विजेता खेलाडीहरूलाई हार्दिक बधाई ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्