काठमाडौँ, ३० कार्तिक । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।
बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।
ब्याटिङमा सर्वथा असफल भएको त्यस खेलसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ । अब सिरिजको उपाधि भिडन्त आयोजक हङकङ र तान्जानियाबीच हुनेछ ।
नेपालले भने लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ । नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल रहेको छ ।
नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।
त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो ।
हङकङमा जारी सिरिजमा आयोजक हङङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।