कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं,१८ पुस । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड—१९ को सब भेरियन्ट जेएन।१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणका केसहरु सीमा नाकामा छिटपुट देखिरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि नभए पनि आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताए ।

कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन।१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ ।

नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दा बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञ बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्