
काठमाडौं, २० चैत । मौसममा फेरबदलसँगै केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुई वटै भाइरस पुष्टि भएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । उहाँले दुवै भाइरस एक साथ देखिएकाले यसलाई ’फ्लुभिड’ को नाम दिएकाे बताउनुभयो ।
रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी गर्ने क्रममा उहाँले अस्पतालमा केहि हप्ता अघि १० जनाभन्दा धेरै बिरामीमा ’फ्लुभिड’ पाइएको र बिरामीको सङ्ख्या बढ्न सक्ने देखिएको बताउनुभयो ।
उहाँले बालबालिका, दीर्घ रोगी र अरू उमेर समूहका पनि उत्तिकै सरुवा रोगको जोखिममा रहेको बताउनुभयो ।
विशेषज्ञ डाक्टर पुनले रुघाखोकी लागेर लामो समय निको नभए स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो ।