काठमाडौं, साउन २२ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरुको फिटनेस तथा फिजिकल टेस्ट गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद खेलकुद (राखेप)को समन्वयमा ललितपुरको सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरुको फिटनेस तथा फिजिकल टेस्ट गरिएको हो ।
फिटनेस तथा फिजिकल टेस्टमा राष्ट्रिय टीमका मुख्य प्रशिक्षक, फिजियो लगाएत उपस्थीत थिए । फिटनेस तथा फिजिकल टेस्टको नजिताका बारेमा टीममा छलफल हुने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिनुभयो ।
खड्काले हाइ पर्फमेन्स सेन्टरमा फिटनेस तथा फिजिकल टेस्टका लागि सम्पूर्ण उपकरण रहेकाले सहज भएको बताउनुभयो । अरु खेल संघहरुले पनि हाइ पर्फमेन्स सेन्टरको सदूपयोग गरेर खेलाडीको फिटनेसमा ध्यान दिनुपर्ने उहाले सुझाव दिनुभयो ।
त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले बनाइएको हाइ पर्फमेन्स सेन्टरको सवैले सदूपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आगामी दिनमा यसलाई थप सुविधासम्पन्न बनाउन सवैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । फिटनेस तथा फिजिकल प्ररिक्षणको नजिताले खेलाडी र सम्पूर्ण टीमलाई बलियो बनाउने मद्धत पुग्ने उहाको विश्वास छ ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली केहि दिनमा टप एण्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान गर्दैछ । अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो ।





