राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ असार । मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।

मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उहालाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए। अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो।

पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ।

उहालाई अस्पतालको सिसियुमा राखेर  मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

राष्ट्रपति पौडेलको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर बसेको राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

त्यसपछि राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे थप समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज लगिएको हो।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत बैशाखमा पनि झन्डै दुई साता लामो समय भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्