पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ११ कात्तिक । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ ।

मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो भने पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ ।

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गर्नुभयो । उहाले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक बिकासको चित्रण गर्ने बताउनुभयो । उहाले जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गर्नुभयो । नियम नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउदा नियम मान्नेहरुलाई सम्मान गरिने उहाले बताउनुभयो । उहाले मादक पदार्थ सेवक गरेर सार्वजनिक सवारी साधान चलाउने काम किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै मासपले अभियान निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो ।
त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताउनु भयो । अब छिटै ब्रेथलाइजर हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुमलाई गैरआवासीय नेपाली संघको सहयोगमा पुननिर्माण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी