काठमाण्डौं, ४ पौष । काठमाडौँको विभिन्न स्थानमा रहेको स्पा र होटलहरुबाट आठ जना किशोरीको नेपाल प्रहरीले उद्धार गरेको छ।
प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट उनीहरुको उद्धार गरिएको हो ।
अनुसन्धानका क्रममा नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएपछि पाँच जना होटल र स्पा सञ्चालकहरुलाई पनि पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन्।
पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




