स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी हुँदा ४० जनाको मुत्यु, १ सय १५ घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ पुस । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । १ सय १५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ः३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए ।

मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरै जना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य शहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।

आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी