विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र: कांग्रेस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पनि पदाधिकारी वा सदस्यलाई व्यक्तिगत रूपमा नभई पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिसँग मात्र रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुनेछ।” त्यसैले त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरिएको छ।

यसअघि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। सोही क्रममा विशेष महाधिवेशन पक्षधर समूहले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।

यसैबीच, नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुन पनि आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्