गोकर्णेश्वरको नारायणटार पुलमा ट्राफिक लाइट सञ्चालन, एआईजी ईश्वर कार्कीबाट उद्घाटन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : ट्राफिक सप्ताहको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित नारायणटार पुलको दुवै मोहडामा जडान गरिएको ट्राफिक लाइट बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

करिब २५ लाख रुपैयाँको लागतमा जडान गरिएको उक्त ट्राफिक लाइट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले उद्घाटन गरेका हुन्।

सवारी जाम व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाले यसअघि जोरपाटी र हनुमान चोकमा पनि ट्राफिक लाइट सञ्चालनमा ल्याइसकेको नगरपालिकाका मेयर दीपक कुमार रिसालले जानकारी दिए। उनका अनुसार ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन सहज भएको र जाम कम भएको प्रतिक्रिया नागरिक तहबाट प्राप्त भएको छ।

उद्घाटन समारोहमा एआईजी ईश्वर कार्कीले ट्राफिक व्यवस्थापनमा भौतिक पूर्वाधारसँगै नागरिक चेतनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संरचना विकाससँगै नियम पालनको संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा प्रहरी र ट्राफिक प्रहरीको कामलाई सहजीकरण गर्ने गोकर्णेश्वर नगरपालिका नमुना स्थानीय तहको रूपमा स्थापित हुँदै गएको भन्दै नगरपालिकालाई धन्यवाद दिए।

यस्तै, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले शान्ति–सुरक्षा र सडक सुरक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र लगानी गर्दै आएको बताइन्।

ट्राफिक सप्ताहको पाँचौँ दिनको अवसरमा आयोजित उक्त कार्यक्रममा बाजागाजासहित ट्राफिक नियम पालनसम्बन्धी सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी