आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपातसहित वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी