काठमाडौँ, १० माघ । हिजोदेखि परेको भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। राजमार्गसँगै विद्युत् सेवा ठप्प छ।
बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखि नै अवरुद्ध रहेका हुन्।
रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ। हिजो बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।
यस वर्षकै पहिलो हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसानलाई केही राहात मिलेको छ । साथै, हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।




