काठमाडौँ : अमेरिकाको मिनेसोटा राज्यमा संघीय एजेन्टहरूको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको छ।
बढ्दो आक्रोशका बीच डेमोक्र्याटिक सांसद इल्हान ओमारमाथि सार्वजनिक कार्यक्रममा आक्रमण भएको बीबीसीले जनाएको छ।
मिनेयापोलिसमा आयोजित एक टाउन हल कार्यक्रममा ओमार सम्बोधन गरिरहेकै बेला एक व्यक्ति उनीतर्फ दौडिएर आएको र अज्ञात तरल पदार्थ छ्यापेको बताइएको छ। सुरक्षाकर्मीहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। घटनाका बाबजुद ओमारले आफ्नो सम्बोधन जारी राखेकी थिइन्।
मिनेसोटामा हालै सुरक्षा निकायको कारबाहीलाई लिएर व्यापक विरोध प्रदर्शन भइरहेको छ। बोर्डर पेट्रोल एजेन्टहरूले ३७ वर्षीय एलेक्स प्रेटीलाई गोली हानी हत्या गरेको तथा त्यसको केही हप्ता अघि अर्का ३७ वर्षीय रेनी गुडको अध्यागमन अधिकारीको गोली लागेर मृत्यु भएको घटनाले राज्यभर आक्रोश चुलिएको हो।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा संघीय सरकारको सक्रियता केही हदसम्म कम गर्ने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले दुवै गोलीकाण्डलाई ‘भयानक’ भन्दै स्थितिलाई शान्त पार्ने प्रयास भइरहेको दाबी गरे।
तर अर्कोतर्फ उनले स्थलगत अध्यागमन अपरेसनको नेतृत्व गर्न आफ्ना ‘बोर्डर जार’ टोम होमानलाई मिनेसोटा पठाएका छन् भने बोर्डर पेट्रोल कमान्डर ग्रेगरी बोभिनोलाई अन्यत्र सरुवा गरिएको छ।
यता, गृह सुरक्षा सचिव क्रिस्टी नोमको राजीनामा माग्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। डेमोक्र्याट तथा केही रिपब्लिकन सांसदहरूले आक्रामक अध्यागमन छापाको विरोध गर्दै नोमलाई पदबाट हटाउन माग गरेका छन्।
हाउस माइनोरिटी लिडर हाकिम जेफ्रीजले राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त नगरे महाभियोग प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पले नोमप्रति आफ्नो पूर्ण भरोसा कायम रहेको बताएका छन्।





