काठमाडौं, माघ २० । सुमन शर्मालाई प्रभु बैंकले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। विगत केही समयदेखि विभिन्न समस्यामा उल्झिएको प्रभु बैंकलाई पुनः ट्र्याकमा फर्काउने जिम्मेवारी अब शर्माको काँधमा आउने भएको हो।
माछापुच्छ्रे बैंक, तत्कालीन सनराइज बैंकलगायत नेपालका प्रतिष्ठित बैंकमा सफल नेतृत्व दिइसकेका शर्मा नेपाली बैंकिङ उद्योगमा एक सम्मानित नाम हाे। सुशासन, पारदर्शिता र नतिजामुखी नेतृत्वका लागि चिनिने शर्माले आफ्नो करियरमा जहाँ पनि काम गरे, त्यहाँ उल्लेखनीय सुधार ल्याएका छन्। उनको व्यावसायिक यात्रा नेपालको वित्तीय क्षेत्रको विकास यात्रासँगै जोडिएको छ।
माछापुच्छ्रे बैंकमा रहँदा शर्माले संस्थालाई ग्रामीण र अर्धसहरी क्षेत्रमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सनराइज बैंकमा उनको नेतृत्वले संस्थागत सुदृढीकरण र ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्यो। जोखिम व्यवस्थापन प्रणालीमा सुधार, डिजिटल बैंकिङ सेवाको विस्तार, कर्मचारी क्षमता विकास कार्यक्रम र नियामकीय अनुपालनमा कडाइ गर्ने काम उनका प्रमुख योगदान हुन्।





