काठमाडौं, २२ माघ । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली हानेर एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी रहेका छन् । उनको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।
गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।
त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।





