विश्वकपमा नेपालको सान्त्वना जित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपालले सान्त्वना जित हात पारेको छ।

लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो।

साथै टी–२० विश्वकपमा नेपालको यो जित १२ वर्षपछिको पहिलो हो। जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ।

यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए। यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिएका थिए। त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए। त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एकरएक विकेट झारे।

नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो।

आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे। दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजित ५० रनको योगदान गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्