आइतबार ओपीडी सेवा दिन सकिँदैनः चिकित्सक संघ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २८ चैत । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार जारी निर्देशन अनुसार आइतबार ओपीडी सेवा दिन नसकिने जनाएको छ ।

संघका महासचिव डा. सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै सरकारले हप्ताको २ दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरेको भए पनि अस्पतालले आइतबारको हकमा आफ्नो जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकामा जनशक्ति नथपिएकाले आइतबार सेवा दिन नसकिने बताएका हुन् ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९–५ ड्युटी बाहेक अनकल, राउन्ड, इमरजेन्सीलगायतका लगायतका सेवा २४ सै घण्टा प्रदान गरिरहेको बताउँदै यस्तो समय गणना नहुनु अन्यायपूर्ण रहेको जनाएको छ । स्वास्थ्य संस्थामा जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको आइतबार सेवा दिने अनुरोध कार्यान्वयन गर्न नसकिने संघको दाबी छ ।

अस्पतालका कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गन र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउन भनिएकोमा विगतमा सट्टा बिदा उपयोग गर्नबाट वन्चित गरिएको संघले बताएको छ ।

संघले इन्धन अभावका कारण हप्ताको २ दिन बिदा दिने निर्णय गरिएकोमा स्वास्थ्य संस्थाको हकमा ओपीडी समय थप बढाई इन्धनको थप अपव्यय गरिनु अत्यन्त अव्यवहारिक रहेको जनाएको छ ।

शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय कार्यान्वयन नहुनुले स्वास्थ्य संस्थाहरूमा थप अन्योल सिर्जना हुने हुनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध फिर्ता लिन संघले अनुरोध गरेको छ । न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्षमा उत्रिन बाध्य हुने संघले चेतावनी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी