१४,बैशाख काठमाडौँ । नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र विश्व बैंककाको त्रिपक्षीय समीक्षा बैठक सम्पन्न भएको छ । नेपालमा सञ्चालित विकास आयोजनाहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे सरकार, एडीबी र विश्व बैङ्कबिच त्रिपक्षीय कन्ट्री पोर्टफोलियो कार्यसम्पादन समीक्षा भएको हो ।
उक्त बैठक यही अप्रिल २३ र २४ तारिख गरी दुई दिनसम्म सञ्चालन भएको थियो । बैठकको मुख्य उद्देश्य विकास आयोजनाहरूको कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने र परियोजनाको काममा सुधार ल्याउन आवश्यक प्रभावकारी उपायहरू खोज्नु रहेको एडीबीले जनाएको छ ।
त्रिपक्षीय समीक्षा बैठकको सहअध्यक्षता नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, एडीबीका नेपालका लागि आवासीय निर्देशक आर्नो कोशवा र माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका कार्यवाहक अपरेसन म्यानेजर एस. आमेर अहमदले संयुक्त रूपमा गरेका थिए ।
बैठकमा आयोजनाको प्रगति, पुँजीगत खर्चको अवस्था र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।
समीक्षा बैठकले नेपालमा दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाहरूलाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण मार्गनिर्देशन गर्ने विश्वास लिइएको एडीबीले जनाएको छ ।





