१५ वैशाख, काठमाडौं । सरकारले सुकुमबासी बस्ती हटाइरहँदा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले धरानमा डोजर चल्न नदिने बताएका छन् । हर्क साम्पाङ संघीय सांसद बनेसँगै बेघाले उपमहानगरको नेतृत्व सम्हालिरहेका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको ज्ञापन पत्र बुझ्दै उनले आफू धरानको नेतृत्वमा रहुन्जेल डोजर नचलाउने र चल्न नदिने गरे ।
उनले भने, ‘म नगरको कार्यवाहक प्रमुख भइञ्जेल यहाँ डोजर कुदाउन दिन्नँ, कुदाउँदिनँ ।’
सुकुमबासी अगुवाहरूले काठमाडौंमा डोजर चलेसँगै आफूहरू पीडामा रहेको सुनाउँदै ‘यहाँ तपाईं हुनुहुन्छ हामी ढुक्क छौँ’ भन्दै राहतको सास फेरेको बताए ।
बेघाले छुट्टै भिडिओ सन्देशमा भनेका छन्, ‘धरानमा कोही कसै घरवारविहीन हुने वा कसैको घरमा डोजर लाग्ने छैन । संघीय सरकारमाथि केही टिका टिप्पणी गर्न चाहन्नँ । तर, मेरो टेरिटोरी मेरो क्षेत्राधिकार रहेको ठाउँमा मेरो प्रतिबद्धता हो ।’
उनले सुकुमबासी भत्काउन गृह प्रशासन र नेपाल प्रहरीबाट केही पत्र आएको जानकारी गराएका छन् । ‘जसले जस्तोसुकै पत्र र निर्देशन गरे पनि मेरो टेरिटोरीको हकमा डोजर चल्दैन ।’
कावा मेयर बेघाले सुकुमबासी समस्यालाई राजनीतिक विषय भन्दा बढी मानवीय र कानूनी ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । धरानमा १५ हजारभन्दा बढी सुकुमबासी भएको उनले बताएका छन् ।
उनले सुकुमबासीहरूलाई उत्तेजित नहुन र संयमित रहन आग्रह गर्दै उपमहानगरपालिका अभिभावक भएको भन्दै ढुक्क रहन ढाडस दिएका छन् ।





