१५,बैशाख काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच एकता भएको पाँच महिनाभन्दा बढी भइसक्यो, तर यसले अझै पूर्णता पाउन सकेको छैन । निर्वाचन आयोगले केही अपुग कागजात माग गरेपछि जसपा नेपाल त्यसको तयारीमा जुटेको छ ।
जसपा नेपाल र लोसपा नेपालबिच एकता भई एउटै चुनाव चिह्नबाट निर्वाचनमा समेत भाग लिइसके । र अहिले आएर त्यसलाई पूर्णता दिन निर्वाचन आयोगले पार्टीलाई पत्र पठाएको हो । चुनावपछि जसपा नेपालका नेताहरूले पनि यसै गृहकार्यमा लागेको बताएका छन् ।
जसपा नेपालका नेता जितेन्द्र सोनलका अनुसार पार्टी एकताका लागि दिइएको नाम अर्को दलमा पनि देखिएकाले त्यसलाई सच्याउन आयोगले भनेको छ । एक व्यक्ति दुई वटा दलमा देखिएकाले त्यसलाई सच्याउन निर्वाचन आयोगले निर्देशन दिएको उनले बताए ।
गत पुसको दोस्रो हप्ता जसपा नेपाल र लोसपा नेपालबिच एकता भएको थियो । त्यसअघि लोसपा नेपालसँग हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकता भएको थियो । जसपा नेपालसँगको एकतामा यी दुई दल पनि समाहित भएका थिए ।
Shivam Cement
नेता त्रिपाठी जसपा नेपालबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए । वृषेशचन्द्रले भने चुनावकै मुखमा आफू जसपा नेपालको एकता प्रक्रियामा नरहेको स्पष्ट पारेका थिए । तर, निर्वाचन आयोगमा जसपा नेपालको तर्फबाट वृषेशचन्द्र र त्रिपाठी दुवै पक्षधरका नेताहरूको नाम गएको थियो, तर दुवै पक्षले आ–आफ्नो पार्टी निर्वाचन आयोगमा खारेज गराएका छैनन् । यद्यपि उनीहरूको पार्टी निर्वाचन आयोगमा दर्ताका क्रममा रहेका कारण एक व्यक्तिको नाम दुई वटा पार्टीमा जुधिएको भन्दै निर्वाचन आयोगले जसपा नेपाललाई पत्र पठाएर सच्याउन भनेको हो ।
जसपा नेपालका अर्का नेता डा. सुरेन्द्र झाले एकता प्रक्रियामा केही प्राविधिक कुरा टुङ्ग्याउनुपर्ने भएकाले त्यसमा आफूहरूले काम गरिरहेको बताए । ‘चार पार्टीको एकताबाट जसपा नेपाल बनेको हो । त्यसमा लोसपा नेपालको समस्या देखिएको छैन,’ झाले भने, ‘जनता प्रगतिशील पार्टी र तमलोपा पनि निर्वाचन आयोगमा दर्तामा रहेको कारण थोरै समस्या देखिएको छ ।’
वृषेशचन्द्र लालले यसअघि नै विज्ञप्ति जारी गरेर आफू एकता प्रक्रियामा नरहेको भनिसकेका छन् । यता, त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीले पनि निर्वाचन आयोगमा रहेको दर्ता खारेज गर्नुपर्ने अनि मात्र पार्टी एकताले पूर्णता पाउने बताएको छ ।
‘यी विषय एक–दुई दिनमै टुङ्गो लाग्छ,’ झाले भने, ‘त्रिपाठी र वृषेशचन्द्रसँग पार्टीले कुराकानी गरिरहेको छ ।’
जसपा नेपालमै मधेसका अन्य पार्टीलाई एकीकृत गर्ने गरी कुराकानी अगाडि बढेको बताउँदै उनले राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत दलहरूसँग आन्तरिक कुराकानी चलिरहेको पनि जानकारी दिए ।





