नेकपाको निष्कर्ष- सरकारको कदम अपरिपक्व, सुकुम्वासी जनतामा आतंक सिर्जना गर्‍यो (पूर्णपाठ)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकबाट समसामयिक प्रस्ताव पारित गरेको छ। आज सकिएको बैठकले १९ बुँदे प्रस्ताव पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

नेकपाले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन असन्तुलित र आग्रहयुक्त देखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा भदौ २४ गतेको विध्वंसकारी घटनाको बारेमा पूर्ण छानबिन भएको नदेखिएको भन्दै सो घटनाको समेत निष्पक्ष छानबिनको माग गर्दै दोषीहरूलाई बिना पूर्वाग्रह कारवाहीको माग गर्न माग गरेको छ।

सरकारले वास्तविक सुकुम्वासीको पहिचान र आवासको वैकल्पिक व्यवस्था बिना नै देशका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती तीव्र रूपमा उठाउँदा हजारौँ अशक्त, बालबालिका, वृद्ध, असहाय र विपन्न सुकुम्वासी जनतामा आतंक सिर्जना भएको निष्कर्ष नेकपाले निकालेको छ।

नेकपाले भनेको छ, ‘सुकुम्वासी जनता जीविकाको सङ्कट, स्वास्थ्य जोखिम र विपद्मा परेका छन्। यो बैठक संविधान प्रदत्त आवासको हकलाई स्मरण गराउँदै विस्थापित सुकुम्वासीलाई यथाशीघ्र सुरक्षित आवासको प्रबन्ध मिलाउन र सुकुम्वासी समस्याको दीर्घकालीन र वैज्ञानिक समाधान गर्न सरकारसमक्ष माग गर्दछ।’

सरकारले सुशासनको नाममा राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीहरूमाथि धरपकड र कारबाही गर्दा अपरिपक्व र पूर्वाग्रहयुक्त भएको भन्दै कारबाही कानुनसम्मत, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउन माग गरेको छ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि आकासिएको कारण, खाना पकाउने ग्यास, सार्वजनिक यातायातको भाडा, खाद्यान्न, फलफूल लगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनियन्त्रित रूपमा वृद्धि भएको भन्दै अत्यधिक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउन समेत माग गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्