काठमाडौं, १७ असार । आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।
विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । त्यसअघि विधेयकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले सरकारले स्वदेशी उत्पादनकर्ताहरुलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याएको बताउनुभयो ।
किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएकाले नै सरकारले साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।
अर्थमन्त्री महतले सूर्तिजन्य पदार्थमा सरकारले आवश्यक कर थप गरेको जानकारी दिनुभयो । उहाले विपत् अथवा भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि केहि बजेट राख्ने गरिएको बताउनुभयो ।
त्यस्तै विधेयकको छलफलका क्रममा सांसदहरुले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क नलगाएको तर विद्यार्थीहरुले प्रयोग गर्ने वस्तुहरुमा कर लगाइएको बताएका थिए । उनीहरुले स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।





