सरकारलाई हर्क साम्पाङको खुला पत्र– ‘काम गर्न नसके मार्ग प्रशस्त गर्नुपर्छ’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२,वैशाख काठमाडाैँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन्। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् ।

नेपालको लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्। केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरे।

सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरे। सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने उनको तर्क छ।

गरीबको बास भत्काउन डोजर प्रयोग गरिरहेको सरकारलाई साम्पाङले सुझाव दिँदै भनेका छन्—’सुकुमबासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ?’

विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन्। ‘राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ पत्रमा लेखिएको छ।

बजेट निर्माण गर्दा सबै क्षेत्रका जनताका समस्यालाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी गराउनुपर्ने साम्पाङको माग छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्