२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठन विघटन भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको ५ भ्रातृ संगठनकाे केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै संगठन स्वतः विघटन भएका हुन्।
विघटन हुने नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्।
तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले राजीनामा दिइसकेका छन्। उनीहरू तत्कालीन सभापति शेरबहादुर देउवा निकटका हुन्।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा गगन थापा आइसकेपछि महाधिवेशन गर्न नसकेका अध्यक्षहरूले जिम्मेवारीबाट अलग भएका हुन्।
यसअघि पार्टीले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो।
पछि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असार १६ देखि २३ गतेसम्म बसेर कार्यतालिका पेश गरेका संघहरूलाई थप समय दिने निर्णय गरेको थियो। यद्यपि, अधिकांश भ्रातृ सङ्गठनहरूले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र आवश्यक तयारीसमेत नदेखिएकाले म्याद थप गर्नु आवश्यक नरहेको निष्कर्षमा पार्टी पुगेको हो।
म्याद सकिएका समितिहरूले उक्त अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वतः अवैध हुने निर्णय भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।
दुलालले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘…म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वतः अवैध भएका छन्। अतः नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सबै भ्रातृ सङ्घहरूको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने।’
नेपाल थारु सङ्घको हकमा जेठ १६ र १७ गते महाधिवेशन मिति तय भएकाले सो अवधिसम्म समयावधि थप गर्ने निर्णय कांग्रेसले गरेको छ।





