२३ वैशाख, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यसमिति, चितवनमा लफडा भएको छ । पार्टीमा सदस्य नै नरहेको व्यक्तिको नाम उल्लेख गर्दै विज्ञप्ति निकालेपछि विवाद निम्तिएको हो ।
सभापति कृष्णप्रसाद भुसालले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पठाउन ठिक्क पारेको पत्र एकाएक सार्वजनिक भयो । २०८१ चैत ९ गते लेखिएको आठ बुँदे पत्रमा अस्पताललाई सुझाव मात्रै नभई कर्मचारीको सिफारिस पनि गरिएको छ ।
‘त्यो पत्र मैले नै लेखेको हुँ । हस्ताक्षर पनि मेरै हो । तर, अस्पताललाई पठाएको थिइन । सचिवालयबाट लिक भएछ । कसले गरेको हो खोजिरहेका छौं ।’
कुन कर्मचारीलाई कुन जिम्मेवारी दिने भनी सिफारिस गरिएको पत्रमा भनिएको छ,‘डा.विनय ठाकुरले चाहना खासै नराखेको भन्ने सुनिन्छ । तर, राम्रो टिम पाएको खण्डमा अस्पताललाई सुधार्न सक्ने निस्वार्थ सेवा भाव रहेको बुझिन्छ । डा.इन्दिरा पराजुली, डा.विनुमा श्रेष्ठ, डा.गंगा सापकोटा, डा.सपना भण्डारीलगायत बोर्डको मेम्बरमा बसेर राम्रो काम गर्न सक्ने व्यक्तित्वको रुपमा बुझिन आएको हुँदा सबै कुरा बुझेर सकेसम्म मेरिटोक्रेसीकै आधारमा जिम्मेवारी प्रदान होस् ।’
तर, कार्यसमितिले सो पत्र अस्पताललाई पठाएन । सचिवालयमा राखिएको पत्र एकाएक सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो । त्यसपछि सभापति भुसालले पार्टी छोडिसकेकी जिता बरालतर्फ इंगित गर्दै विज्ञप्ति जारी गरेका हुन् । चैत ३० गते जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भरतपुर ५ की जिता बराल हाल उहाँ पार्टीको साधारण सदस्यसमेत नरहनुभएको हुँदा उहाँका कुनैपनि क्रियाकलापप्रति पार्टी जवाफदेही नहुने कुरामा समेत अवगत गराइन्छ ।’

आफ्नो नामसहितको विज्ञप्ति आएपछि बरालले घोर आपत्ति जनाएकी छन् । उनले कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी छिन् । लेख्छिन्,‘कुन विषय ,केका लागि मेरो नाम किटानी गरी सामाजिक सञ्जालमा हालिएको हो ? जवाफअनुसार थप कानुनी प्रक्रियामा जानेछु । अन्यायका लागि बोल्ने योद्धा कसैमाथि अन्याय हुँदा मौन बसिँदैन, चाहे मेरा असल मित्र हुन्न या फरक मत राख्ने फरक रुप देखाउने चरित्र हुन् ।’
सभापति भुसालका अनुसार सो पत्र उनैले लेखेका हुन् । तर, अस्पताललाई पत्र नपठाएको उनको भनाइ छ । जनआस्थासँग भने,‘त्यो पत्र मैले नै लेखेको हुँ । हस्ताक्षर पनि मेरै हो । तर, अस्पताललाई पठाएको थिइन । सचिवालयबाट लिक भएछ । कसले गरेको हो खोजिरहेका छौं ।’
चितवन रविको निर्वाचन जिल्ला हो ।





