२४, वैशाख काठमाडौँ । सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएका सरकारी गाडी एक पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले चढिरहेको पाइएको छ ।
गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले उनीहरूलाई गाडी उपलब्ध गराइरहेको हो ।
शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २ गाडी मन्त्रालयबाट लगेर प्रयोग गरिरहेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा.बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले उपलब्ध गराएका एक/एक वटा गाडी चढिरहेका छन् ।
यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई सरकारी गाडी प्रयोग गरेका भीभीआईपीको विवरण पठाउन पत्र पठाएको थियो । त्यो पत्रको जवाफ मन्त्रालयले प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयलाई जानकारी गराइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयबाट मागिएको गाडी उपलब्ध गराएकोसम्बन्धी विवरणको जवाफ आफूहरूले पठाएको रातोपाटीलाई जानकारी दिए । यस्तै बुधबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत चढिरहेको गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएका थिए ।





