२५,वैशाख काठमाडौँ । वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा (नासु) हेमबहादुर मस्राङ्गीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मस्राङ्गीलेले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने, सेवाग्राहीलाई तारिखमा बस्न नपर्ने र मुद्दा नचल्ने निर्णय गराइदिने आश्वासन दिँदै १५ हजार रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।
अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १५ हजार बिगो कायम गरी बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।





