सांसदलाई रास्वपाको चेतावनी : राजनीति नाराले मात्रै चल्दैन, क्षमता र परिणामले चल्छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीति क्षमता, तयारी, अध्ययन र परिणामले चल्ने स्पष्ट पारेको छ।

रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा यस्तो स्पष्ट पारेको हो।

रास्वपाका १८२ जना सांसदमध्ये प्रशिक्षण कार्यक्रममा कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले यस्तो चेतावनी दिएका हुन्। उनले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको बताए। उनले यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने संकेत भएको बताए।

उनले प्रशिक्षण कार्यक्रम आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताए। पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी दिए। जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले क्षमता, अध्ययन र परिणामले जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। उनले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्‍यो’ भन्ने आधारमा मूल्यांकन गर्न थालेको उल्लेख गरे।

पराजुलीले भने, ‘जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन्। आजको राजनीति नाराले मात्रै चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्छ। जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्‍यो भन्ने मूल्यांकन गर्न थालेका छन्। पार्टीले क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिनु भनेको संसदीय भूमिकाबाट विमुख हुनु हो। पार्टी र संसदीय दलका तर्फबाट यी कुरा मूल्यांकन गरिनेछ।’

उनले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्यांकन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गरे। उनले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्र स्थगित गरिएको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्