मन्त्री बन्ने दौडमा सुदूरका कांग्रेस सांसद, गगनले भने– तत्काल मुख्यमन्त्री फेरिन्न

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पहिलो पटक धनगढी पुगेका गगन थापाले सुदूरपश्चिम प्रदेशका सांसद, सरकारमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरू तथा नीति आयोगका उपाध्यक्ष र सदस्यहरूसँग छुट्टै संवाद गरेका छन् ।

‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’का लागि धनगढी पुगेका सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूले प्रदेश सरकार र प्रदेश सभाका सदस्यहरूसँग छुट्टै छलफल गरेका हुन् ।

प्रदेशस्तरीय भेलाको पहिलो दिनको कार्यक्रम सकिएलगत्तै थापाले छलफल थालेका थिए । छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहसहित कांग्रेसबाट भएका मन्त्री तथा राज्यमन्त्री, कांग्रेसका सांसद र नीति तथा योजना आयोगमा कांग्रेसबाट नियुक्त भएका उपाध्यक्ष तथा सदस्यहरू सहभागी थिए ।

सुरुमा उपसभापति शर्माले विषयवस्तुबारे जानकारी गराउँदै नीति तथा कार्यक्रम र बजेट उपयुक्त बनाउनेबारे नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन रानालाई समय दिएका थिए ।

नीति आयोगकी उपाध्यक्षले सिलिङ कम भएर आएको र त्यहीअनुसार बजेटको तयारी भइरहेको बताएकी थिइन् । चालु आर्थिक वर्षको बजेटको प्राथमिकताबारे उनले स्पष्ट पारेकी थिइन् । त्यसपछि सांसदहरूले पालैपालो आफ्नो कुरा राखेका थिए ।

दिवानसिंह विष्टले कुरा राख्दै मुख्यमन्त्रीसँग गुनासो पोखेका थिए । उद्योग वाणिज्य संघको कार्यक्रममा मुख्यमन्त्री आउने आश्वासन दिएर नआएको, बेलौरीको अस्पताललाई प्रादेशिक अस्पतालमा नबनाएकोदेखि मुख्यमन्त्रीसँग बोलचाल नै बन्द भएको जस्तो अवस्था आएको भन्दै उनले सभापति थापालाई बताएका थिए ।

विष्टले मुख्यमन्त्रीले गगन थापालाई सभापति नमान्ने भन्दै दिएका अन्तर्वार्ता तथा भनाइहरूको विषयमा पनि छलफलमा कुरा उठाएका थिए ।

विष्टपछि बेलबहादुर राना, रक्षा बम, गीता चौधरी, ललिता सुनार, विक्रमसिंह धामी, पदम शाही र तुलसी देवकोटाले पनि आफ्नो कुरा राखेका थिए । उनीहरूमध्ये अधिकांशले आफूलाई अब मन्त्री बनाउनु पर्नेबारे कुरा राखेका थिए ।

थारू बाहुल्य क्षेत्रबाट थारू मन्त्री बनाउनु पर्ने भन्दै गीता चौधरीले आफूलाई संकेत गरेकी थिइन् । ‘केहीले सिधै भन्नुभयो, केहीले घुमाउरो पाराले भन्नुभयो । तर मन्त्री नभएका सांसदहरूले सबैजसोले मन्त्री बन्न पाउनुपर्छ भन्ने धारणा राख्नुभयो,’ छलफलमा सहभागी एक सांसदले भने, ‘बाहिर मुख्यमन्त्री हटाउने कुरा गर्नेहरूले पनि त्यहाँ मुख्यमन्त्रीको पक्षमा बोल्दै बरु मन्त्री बनाइदिन अपिल गर्नुभएको थियो ।’

सांसदहरूले मन्त्री भएको क्षेत्रमा मात्रै बजेट जाने परम्पराको अन्त्य हुनुपर्ने समेत बताएका थिए । कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले धनगढीमा बजेट खन्याएको जस्तो नहोस् भन्दै सचेत गराएका थिए ।

सांसदहरूको कुरा सुनिसकेपछि सामाजिक विकास मन्त्री मेघराज खड्का र आर्थिक मामिला मन्त्री बहादुर थापाले आफ्नो धारणा राखेका थिए ।

सामाजिक विकास मन्त्रीले सीमित स्रोतका बीच असीमित अपेक्षा रहेको भन्दै बजेट राम्रो बनाउने प्रयास भइरहेको बताएका थिए । अर्थमन्त्री थापाले पनि सामाजिक विकास मन्त्रीले जस्तै बजेटबारे थप स्पष्ट पारेका थिए ।

विगतका सरकारहरूले बिचौलियामार्फत बजेट विनियोजन हुने गरेको थुप्रै आरोपहरू आइरहेका थिए । हामीले त्यसलाई नियन्त्रण गरेका छौं,’ उनले भनेका थिए, ‘सबैसम्म राम्रो बजेट ल्याउने प्रयास गरिरहेका छौं । ’

सामाजिक विकास मन्त्री र अर्थमन्त्रीपछि मुख्यमन्त्रीले पनि छलफलमा उठेका विषयबारे बताएका थिए । उनले राम्रो बजेट ल्याउने काम भइरहेको बताएका थिए ।

कांग्रेसको टिमको विषयमा मुख्यमन्त्री शाहले जुना दानीको मात्रै नाम लिएका थिए । विशेष महाधिवेशनमा प्रतिनिधित्व गर्ने एक मात्रै सांसद दानी रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

तपाईंहरूको टिमको भनेको जुना दानी मात्रै हो । अरू कुनै पनि तपाईंहरूको टिमका होइनन् । १५औं महाधिवेशनमा को कहाँ जोडिन्छ, त्यो अहिल्यै भन्न सकिन्न,’ मुख्यमन्त्री शाहले छलफलमा भनेका थिए ।

सबैको कुरा सुनिसकेपछि सभापति थापाले सरकारबारे स्पष्ट धारणा व्यक्त गरेका थिए । सभापति थापाले मन्त्री बन्न अपेक्षा व्यक्त गरेका सांसदहरूको माग तत्काल सम्बोधन नहुने संकेत गरेका थिए । ‘अहिले सरकारबारे निर्णय गर्ने कुरा छैन । पछि एमालेसँग सबै प्रदेशबारे थप छलफल हुन सक्छ,’ सभापति थापाले भनेका थिए, ‘समग्र प्रदेशबारे छलफल भएर हुने निर्णय सबैले मान्नुपर्छ ।’

सभापति थापाले बजेटपछि नेकपासँग पनि सहकार्य गरेर सबै प्रतिपक्ष एक ठाउँमा आएर अघि बढ्न सक्नेबारे पनि बताएका थिए । ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा आफूविरुद्ध समानुपातिक सांसदहरूलाई कारबाही गरेर भए पनि बहुमत पुर्याउने खेल भइरहेको भन्दै आपत्ति जनाएका मुख्यमन्त्री शाहलाई सभापति थापाले मुख्यमन्त्रीमै कायम राख्लान् कि नराख्लान् भन्ने चर्चाका बीच अधिकांश सांसदले समर्थन जनाएका छन् । त्यसपछि तत्काल कांग्रेसमा शाहको विकल्प देखिने सम्भावना टरेको छ ।

मुख्यमन्त्री फेर्ने अभियानमा होमिएकाहरू पनि सभापतिलाई भेटेर मुख्यमन्त्रीमा शाहलाई निरन्तरता दिँदै आफूहरूलाई मन्त्रीमा समेट्नुपर्ने बताइरहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्