३० वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रमुख सचेतक महेश बर्तौलाले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले एमाले नेता रामबहादुर थापाले बोलेका शब्द हटाउन गरेको रुलिङ चयनमुखी भएको बताएका छन् ।
साथै उनले उक्त निर्णयले संसद्को लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका, संसदीय अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सभामुखको निष्पक्षता र तटस्थ भूमिकामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेका छन् ।
‘नेकपा (एमाले) संसदीय दलका नेता माननीय राम बहादुर थापा ‘बादल’ ले हिजोको प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखले आज गर्नु भएको रुलिङ बिलकुल चयनमुखी देखिन्छ’, बर्तौलाले बुधबार रातोपाटीसँग भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्षको मुख्य दायित्व नै सरकारलाई खबरदारी गर्ने , प्रश्न गर्ने, आलोचना गर्ने र जनताको आवाज उठाउने हो ।’
उनले प्रतिपक्षले सत्तापक्षलाई मनपर्ने कुरा मात्र नबोल्ने भन्दै सत्ता र सरकारका कमजोरीमाथि कठोर प्रश्नहरू समेत लगातार उठाइरहनुपर्ने बताए ।
‘यदि प्रतिपक्षका सांसदहरूले बोलेका विषयहरू राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार हटाइने अवस्था बन्छ भने त्यसले संसद्लाई खुला बहसको थलोभन्दा नियन्त्रणको संरचनातर्फ धकेल्ने खतरा पैदा गर्दछ’, बर्तौलाले भने, ‘सांसदको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउँदा नियमावलीको कुन व्यवस्था अन्तर्गत कुन शब्द, वाक्य वा अभिव्यक्ति असंसदीय ठहरियो वा नियम विपरीत रह्यो भन्ने कुरा सभामुखले स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ ।’
तर बुधबारको रुलिङमा त्यो स्पष्टता पर्याप्त रूपमा नदेखिएको बर्तौलाको भनाइ छ ।
संसदीय अभ्यासमा सभामुखबाट सदनले सधैं तटस्थता, निष्पक्षता र समान व्यवहारको अपेक्षा गर्ने गरिन्छ । ‘संसद्को गरिमा र मर्यादामाथि प्रत्यक्ष असर पर्ने सरकारका प्रधानमन्त्रीको व्यवहार र अटेरीप्रति कठोरता नदेखाउने तर प्रतिपक्षका सांसदहरूका अभिव्यक्तिमाथि तत्काल रुलिङ गर्ने प्रवृत्तिले सभामुखको साझा भूमिका प्रतिको विश्वास कमजोर बनाएको छ’, बर्तौलाले भने, ‘संसद आफैमा संवाद, असहमति र आलोचनाको साझा मञ्च हो त्यसलाई नियन्त्रणको माध्यम बनाइयो भने संसदीय मामिलामा द्वन्द्व र अविश्वास झन् गहिरिने जोखिम रहन्छ ।’ उनले लोकतन्त्रको स्वास्थ्यका लागि समेत संसदभित्र सरकारको कामकारबाही प्रति खबरदारीपूर्ण आवाजलाई स्थान दिनु, नियमावलीको प्रयोग निष्पक्ष ढंगले गर्नु र सभामुखको भूमिका प्रतिको विश्वसनीयता कायम राख्नु अत्यन्त आवश्यक रहने बताएका छन् ।





