काठमाडौँ । क्रिकेटर कुशल भुर्तेल र मोडल प्रशंसा रिलेसनसिपमा रहेको विषय अब नौलो रहेन । उनीहरू प्रेमको गहिराइमै पुगिसकेका छन् र यसलाई सार्वजनिकरूपमा स्वीकार पनि गरिसकेका छन् ।
कुशलसहित नेपाली क्रिकेट टिम हिजो नेदरल्याण्ड्सको भ्रमण सकेर स्वदेश फर्कियो । यो भ्रमणमा नेपालले खराब प्रदर्शन गरेकाले एयरपोर्टमा खासै रौनक थिएन । फ्यानहरू न्युन संख्यामा थिए ।
असल फ्यान त्यो हो जसले आफ्नो प्रिय खेलाडीलाई जुनसुकै परिस्थितिमा साथ दिन्छ । त्यसमाथि प्रेमको पनि मामला भएकाले प्रशंसा टीमको स्वागतमा एयरपोर्ट नपुगिरहन सकिनन् ।
सार्वजनिक भएको एउटा भिडिओमा प्रशंसा मास्क लगाएर कुशलसामु पुगेको देखिन्छ । कुशलले उनलाई खुल्लमखुल्ला ‘टाइट हग’ समेत गरेका थिए ।
कुशल र प्रशंसा करिब दुई बर्षदेखि रिलेसनसिपमा छन् । सुरूमा उनीहरूले गुपचुप प्रेमसम्बन्ध राखे पनि अहिले छताछुल्ल भइसकेको छ । हालै एक अन्तरवार्तामा कुशलले प्रशंसा आफ्नो जीवनमा आएदेखि आफूमा धेरै परिवर्तन र परिपक्वता आएको बताएका थिए । प्रशंसाले भने कुशलसँगको सम्बन्धबारे सार्वजनिक रूपमा बोलेकी छैनन् ।
कुशल र प्रशंसाको जोडीलाई नेपाली क्रिकेट फ्यानहरूले निकै रूचाएका छन् । उनीहरूलाई ‘राष्ट्रिय मामा–माइजू’ भन्ने गरिएको छ ।





