काठमाडौं र काभ्रेमा शृंखलाबद्ध रूपमा लुटपाट गरेको आरोपमा कर्मा समूहलाई प्रहरीले पक्राउ गरेको छ।
समूहमा रहेर लुटपाटमा संलग्न भएका ५ जनालाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ छन्। परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार उनी यस आपराधिक क्रियाकलापका नाइके हुन्।
२०७९ यतामात्रै उनीविरूद्ध ९ वटा मुद्दा दायर छन्।
गत वर्ष भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट उनी भागेका थिए। हिरासतबाट भागेर उनले चोरी, लुटपाट र डाँका समेत मार्ने कार्यमा संलग्न भएको एसएसपी घिमिरेले बताए।
यही घटनामा प्रहरीले काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरूङ र मनोज तामाङलाई पनि पक्राउ गरेको हो। मनोज भने सुन पसले हुन्।
प्रतिमान लुटपाटका लागि मोटरसाइकल चलाउने काम गर्थे। उनी डाँका चोरी मुद्दामा भदौ २४ गते भागेका थिए। तर फेरि पक्राउ परी अदालतले तोकिएको सजाय भुक्तान गरी निस्केका हुन्।
उनीविरूद्ध दुई वटा मुद्दा दर्ता भएको पृष्ठभूमि छ।
त्यसैगरी पासाङले मोटरसाइकल उपलब्ध गराउँथे भने उनीविरूद्ध चार वटा मुद्दा दर्ता रहेको देखिन्छ।
एसएसपी घिमिरेका अनुसार कर्मको समूह पछिल्लो समय चारवटा घटनामा संलग्न छन्।
साउन ७ गते दिउँसो धापासी हाइट मन्दिरमा हिँडिरहेका ६६ वर्षीया वृद्धाको एक तोलाको सुनको सिक्री लुटपाट भएको थियो।
असार १५ मा बिहान साढे ३ बजे काठमाडौं-३२ नरेफाँट नजिकै जडिबुटी जाने बाटो कहाँ हो भनेर लछारपछार गरी तीन तोलाको सुनको सिक्री लुटपाट भएको थियो।
त्यस्तै त्यही मिति राति उनीहरूले धुलिखल पुगेर एक व्यक्तिको घाँटीमा लगाएको एक तोला २० लाल सुन लुटेका थिए।
असार १३ गते बिहान ४ बजे शान्तिनगरमा तरकारी पसल जाँदै गरेकी एक जना महिलालाई लछारपछार गरी साढे २ तोलाको सुनको सिक्री लुटेको प्रहरीको भनाइ छ।
यसरी शृंखलाबद्ध रूपमा लुटपाट गर्ने समूहको पहिचान गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनीहरूको पहिचान गरी बनेपाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।
‘उनीहरू काठमाडौंबाट लुटपाट गरेपछि केही दिनका लागि लुक्न काठमाडौं बाहिर जाने गरेको देखियो,’ एसएसपी घिमिरेले भने।
चार जनालाई पक्राउ गरी कर्माको खोजी गर्नेक्रममा प्रहरीले गएराति बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चास्थित पानी ट्यांकी नजिकैबाट प्रहरीले कर्मालाई पक्राउ गरेको हो।
उनले प्रहरीमाथि खुकुरी प्रहार गर्न खोज्दा दुई राउन्ड हवाइ फायर गरेको एसएसपी घिमिरेले बताए।
यही क्रममा नरोकिएपछि एक राउन्ड खुट्टामा गोली हानेको प्रहरीले जनाएको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।





