देवानगञ्ज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ ।
गत आइतबार राती दुई समुदायका बिचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगञ्जका ओम प्रकाश मेहताका मृत्यु भएपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो ।
प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढेको थियो ।
सुनसरीको इनरुवा, भोक्राह नरिसिंग, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नौ वटा पालिकामा कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युकै बिचमा गोली लागि घाइते भएका जयप्रकाश मेहताको पनि उपचारका क्रममा मृत्यु भएपछि मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो ।
प्रदर्शनका क्रममा सिरहाको गोलबाजारमा प्रहरीको गोली लागि गणेश यादवको मृत्यु भएपछि थप हिंसा भड्किएको थियो ।
गृहमन्त्री सुधन गुरुङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ । हिंसा रोकिएसँगै सुनसरीमा लागेको कर्फ्यु हटेको छ । कर्फ्यु हटेसँगै सुनसरीको सीमा क्षेत्र सामान्य जन जीवन सुरु भएको स्थानीयले जनाएको छ ।
गोली काण्डमा मृत्यु भएका परिवारलाई सङ्घीय सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै देवानगञ्ज गाउँपालिकाले पनि १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रदेश सरकारले पनि २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो ।
दैनिक जन जीवन सामान्य भए पनि स्थानीयमा त्रास भने कायमै रहेको छ । स्थानीयहरू अहिले पनि झडप हुने डरमा रहेको भए पनि सुनसरीका बजारमा आइतबारदेखि पुनः चहलपहल बढेको हो ।
इनरुवा बजार क्षेत्रमा सार्वजनिक सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएपछि सर्वसाधारणको आवतजावत सहज बनेको छ ।
लामो तथा छोटो दूरीका सवारी चल्न थालेसँगै यात्रुहरूको चाप पनि बढ्न थालेको छ । आइतबारबाट मुख्य बजार, व्यापारिक प्रतिष्ठान, बैङ्क तथा वित्तीय संस्था पनि क्रमशः खुल्न थालेका छन् ।
पसल सञ्चालनमा आएपछि किनमेलका लागि उपभोक्ताको उपस्थिति बढेको व्यवसायीहरूले बताएका छन् ।
स्थानीयका अनुसार केही दिनअघिसम्म सुनसान देखिएको इनरुवा बजार अहिले सामान्य लयमा फर्किन थालेको छ । सुरक्षा निकायको सक्रियता र स्थानीय तहबिचको समन्वयका कारण बजार क्षेत्र शान्त र सुरक्षित बन्दै गएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले बताए ।
एक सातासम्म यातायात सेवा अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी तथा यात्रुहरूलाई ठुलो सास्ती व्यहोर्नुपरेको थियो । राजमार्ग बन्द भएका कारण लामो दूरीका बस सञ्चालन हुन सकेका थिएनन् ।
यातायात व्यवसायी राजन कँडेलका अनुसार पहाडी क्षेत्रका केही रुटमा सवारी चले पनि यो अवधिमा जनकपुर, वीरगन्ज, पोखरा, काठमाडौँ लगायतका गन्तव्यमा जाने बसहरू अवरुद्ध थियो । आजबाट भने लामो दुरीका बस सेवा समेत सञ्चालन भएको यातायात व्यवसायीहरूले बताए ।





