काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थान तथा मधेस, कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





