काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभन्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको हो। काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकेर चालक तथा यात्रु खाजा खान गएका बेला अचानक आफैं गुडेको थियो।
बसले सडकछेउमा रोकिराखेको बागमती प्रदेश ०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। त्यसपछि बस र भ्यान दुवै सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए।
दुर्घटनामा बसमा सवार काभ्रेपलाञ्चोक बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ललितपुरको लालबन्दी–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ छन्। सुजताको दाहिने हात, शर्मिलाको बायाँ हात तथा ज्ञानुको टाउको र ढाडमा चोट लागेको छ।
घाइते तीनै जनाको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस रोकिएको समयमा यात्रुहरू खाजा खान गएको हुँदा बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बस चालक काभ्रेको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।





