आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । खाना पकाउने ग्यास अभाव भएका उपभोक्ताका लागि काठमाडौँका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो। निगमका अनुसार निगमको टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ ।

त्यस्तै टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन् भने चपलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।

नयाँ बजारबाट नेपाल, एचपी र ओम तथा तारकेश्वरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। चन्द्रागिरीबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ ।

निगमले ग्यास आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री-वितरण गरिरहेको जनाएको छ ।

विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका र अत्यावश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानमा पुगेर ग्यास खरिद गर्न सक्नेछन् । निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र उक्त बिक्री केन्द्रबाट ग्यास खरिद गर्न आग्रह गरेको छ ।

बजारमा ग्यास अभाव भइरहेका बेला आपूर्ति सहज बनाउन निगमले शनिबारदेखि आफैँले काठमाडौंका विभिन्न स्थानबाट ग्यासको बिक्री थालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्