काठमाडौं । इरानले आफ्नो आदेशबिना होर्मुज जलडमरू नखोल्ने अडान दोहोर्याएको छ। इरानले अमेरिकाले पराजय स्वीकार नगरेसम्म जलडमरूमा नाकाबन्दी जारी राख्ने बताएको छ।
इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले ‘काल्पनिक कुरा’ गर्न नछाडेसम्म होर्मुजमा नाकाबन्दी जारी रहने बताएका हुन्।
उनले होर्मुज जलडमरू इरानकै आदेशमा खुल्ने र बन्द हुने दाबी गर्दै सामाजिक सञ्जालको पोस्ट, विमानवाहक युद्धपोत वा चुनावी भाषणबाट जलडमरूमाथि नियन्त्रण कायम गर्न नसकिने बताएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले पनि अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्। उनका अनुसार युद्धअघि विश्वको करिब पाँचमध्ये एक हिस्सा तेल ओसारपसार हुने होर्मुजबाट पुनः नियमित जहाज आवागमन सुरु गर्न अमेरिकाले केही सर्त पूरा गर्नुपर्नेछ।
अमेरिकामा पेट्रोलको मूल्य बढ्दै
युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढिरहेको छ। अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार शुक्रबार एक ग्यालोन पेट्रोलको औसत मूल्य करिब ४.०८ डलर पुगेको थियो, जुन एक वर्षअघिको तुलनामा २९ प्रतिशत बढी हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार न्युयोर्कको गार्डेन सिटीमा आयोजित राजनीतिक सभामा युद्ध जारी रहँदा अमेरिकी नागरिकले पेट्रोलका लागि ‘थोरै बढी’ रकम तिर्नुपर्ने बताएका छन्। इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न त्यसको मूल्य चुकाउनु उचित हुने उनको भनाइ थियो।
ट्रम्पले इरानलाई ‘धेरै दुष्ट देश’ भन्दै युद्धमा इरानलाई पराजित गरेपछि होर्मुज जलडमरूलाई अमेरिकाको भूभाग घोषणा गर्ने दाबीसमेत गरेका छन्।
पेट्रोलको मूल्य वृद्धि ट्रम्पका लागि राजनीतिक चुनौतीसमेत बनेको छ। राष्ट्रपतीय निर्वाचनका क्रममा उनले ऊर्जा लागत घटाउने वाचा गरेका थिए। आगामी नोभेम्बरमा हुने कंग्रेस निर्वाचनमा डेमोक्र्याटहरूले युद्धका कारण अमेरिकी अर्थतन्त्रमा परेको प्रभावलाई चुनावी मुद्दा बनाउन खोजिरहेका छन्।
यसैबीच कच्चा तेलको मूल्य पनि बढेको छ। शुक्रबार कच्चा तेलको वायदा मूल्य प्रतिब्यारेल करिब एक डलर बढेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य साप्ताहिक रूपमा ६ प्रतिशत तथा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ५.४ प्रतिशत बढ्ने क्रममा थियो।
होर्मुजमा जहाज आवागमन ठप्पजस्तै
युद्ध सुरु हुनुअघि दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने होर्मुज जलडमरूबाट शुक्रबार दुईवटा मात्र जहाज पार भएका थिए। जहाज ट्र्याकिङ कम्पनी केप्लरको विश्लेषणअनुसार ती जहाजबाट कच्चा तेल ढुवानी भएको देखिएको छैन।
केही जहाजले ट्रान्सपोन्डर बन्द गरेर इरानी निगरानीबाट बच्दै जलडमरू पार गरेको हुन सक्ने भए पनि नियमित आवागमनको तुलनामा यो संख्या निकै न्यून हो। इरानको अनुमति नलिई जलडमरूमा प्रवेश गर्ने जहाजमाथि क्षेप्यास्त्र वा ड्रोन आक्रमणको जोखिम रहेको बताइएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले अबुधाबी नेसनल आयल कम्पनी (एडीएनओसी)द्वारा सञ्चालित एउटा जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ। यूएईले यसअघि पनि एडीएनओसीका दुई जहाजसँग सम्बन्धित घटनामा इरानलाई दोष दिएको थियो।
बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स केन्द्रले पनि होर्मुजमा एउटा मालवाहक जहाजको बाहिरी भागमा अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको जनाएको छ।
इरानमा पनि युद्धको आर्थिक असर
अमेरिकासामु कडा अडान प्रस्तुत गरिरहेको इरानमा समेत युद्धको आर्थिक असर देखिन थालेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सरकारी टेलिभिजनमार्फत बोल्दै अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी तथा तेल निर्यातमाथिको प्रतिबन्धका कारण उच्च मुद्रास्फीति भएको बताएका छन्।
युद्ध अन्त्यका लागि यसअघि सम्भावित भनिएको जुन महिनाको सम्झौता पनि संकटमा परेको छ। विदेशमन्त्री अराक्चीले युद्धविराम विस्तार गर्ने प्रश्न नै नरहेको भन्दै पहिले युद्धविराम नभएको, युद्धको अन्त्य भएको र अहिले नयाँ परिस्थिति सिर्जना भएको बताएका छन्।
यसैबीच यमनमा इरानसमर्थित हुथी विद्रोहीको गतिविधिले क्षेत्रीय युद्ध थप फैलिन सक्ने चिन्ता बढाएको छ। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले शुक्रबार लाल सागरस्थित मोखा बन्दरगाहमा ६ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यसबाट चार सर्वसाधारणको मृत्यु भएको जनाएको छ।





