एलपी ग्यासको अभाव चर्किएपछि विक्रेता महासंघको माग– उद्योग र बिक्री केन्द्रबाट प्रत्यक्ष बिक्री रोकियोस्

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणाली अर्थात् विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले अभाव थप जटिल बनाएको बताएका छन्। उनका अनुसार यसबाट उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको छ।

महासंघले एकातिर विक्रेतालाई ग्यास उपलब्ध नगराउने र अर्कोतिर अनुगमनका नाममा विक्रेतालाई दुःख दिने सरकारी रवैयाले बजार भद्रगोल बनेको जनाएको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

महासंघले तत्काल ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री रोक्दै विक्रेतामार्फत मात्र ग्यास वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरेमा मात्रै उपभोक्ताले भोगिरहेको सास्ती अन्त्य हुने र ग्यास अभावको वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ।

चार महिनामा ६० हजार टन कम ग्यास आयात

महासंघले पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांकसमेत सार्वजनिक गरेको छ। बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिएकाले पनि अहिलेको समस्या उत्पन्न भएको महासंघको भनाइ छ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ विकराल बन्ने चेतावनी दिएको छ।

सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको आरोपसमेत महासंघले लगाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी