काठमाडौं । नेपालकै ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपरस्टोरले काठमाडौं उपत्यकाका तीनवटा स्टोर चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।
भाटभटेनीले भक्तपुरको राधेराधेस्थित सुपरस्टोरलाई सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो। त्यसपछि ललितपुर र काठमाडौंका एक–एक स्टोर पनि चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरिएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार काठमाडौं उपत्यकाको यातायात चाप र यात्रु सेवाको आवश्यकतालाई ध्यानमा राख्दै भक्तपुरबाट चौबिसै घण्टा सेवा सुरु गर्न लागिएको हो।
‘काठमाडौं उपत्यकाको यातायात ट्राफिक चाप र यात्रु सेवा हेरेर सुरुवातमा भक्तपुर राधेराधेस्थित सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा आउने छ,’ पौडेलले भने, ‘त्यसपछि ललितपुर र काठमाडौंका एक–एक स्टोर पनि चौबिसै घण्टा चलाउँछौं।’
भक्तपुर स्टोर चौबिसै घण्टा सञ्चालनमा आएको एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौंको टंगालस्थित स्टोर पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी रहेको पौडेलले जानकारी दिए।
पहिलो तलामा मात्रै सेवा
चौबिसै घण्टा सञ्चालन हुने सुपरस्टोरमा पहिलो तला मात्रै खुला रहनेछ। पहिलो तलामा ग्रोसरीका सामान मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
काठमाडौं उपत्यकाका तीनवटै स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखराको एक स्टोरलाई पनि यही मोडलमा सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए।
चौबिसै घण्टा सञ्चालनका लागि भाटभटेनीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको जनाएको छ। पहिलो तलामा ग्रोसरी सामान मात्रै बिक्री हुने भएकाले रातिको समयमा धेरै कर्मचारी आवश्यक नपर्ने कम्पनीको भनाइ छ।
रातिको समयमा समेत स्टोर सञ्चालन हुने भएकाले प्रहरी प्रशासनलाई समेत यसबारे जानकारी गराइएको पौडेलले बताए।
देशभर २७ स्टोर
व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन्।
कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको जनाएको छ। देशभरका स्टोरमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
२०७२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। त्यसबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोरेको थियो।
ठूलो क्षति भए पनि कम्पनीले कुनै पनि कर्मचारीको रोजगारी नखोसिएको र पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ।




