३५० रुपैयाँको सामान किन्दा १० लाख जिते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागीमध्ये गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।

यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँको पुरस्कार जितेका छन्। पुरस्कार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत घोषणा गरिएको हो।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका छन्।

यस्तै, क्यूआर कारोबारमार्फत स्वतः सहभागी हुनेको संख्या बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

पछिल्लो १६ दिनमा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार उपहार योजनामा सहभागी भएका थिए। यही कारोबारबाट १६ जना विजेता छनोट गरिएको विभागले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्